बारामा प्रधानाध्यापक सर्राफको हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ



वीरगंज । बाराको कलैयामा सोमबार गोली प्रहार गरी शिक्षकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–६ मदरशा टोलस्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफको सोमबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले साँझ कलैया उपमहानगरपालिका–१ बाट एक महिलालाई पक्राउ गरेका हो । उनको प्रहरीले परिचय खुलाएको छैन ।


स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा आएका चार जना व्यक्तिले गोली हानेर फरार भएका थिए ।

उनको छाती र पेटमा गोली लागेको थियो । गोली लागेर घाइते भएका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पतालमा पुर्याएका थिए । त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयोधा मेडिसटी हस्पिटलमा लगिएको थियो । त्यहीँ उपचारका क्रममा सर्राफको मृत्यु भएको थियो ।