‘फेन्टानिल’ सङ्कट अमेरिकी समस्या भएको भन्दै चीनद्वारा प्रतिबन्धको विरोध



‘फेन्टानिल’ सङ्कटलाई बढावा दिने विश्वास गरिएका रसायनहरूको उत्पादनलाई लिएर चीनस्थित औषधि सञ्जालमाथि अमेरिकी प्रतिबन्धपछि बेइजिङले बुधबार वासिङ्टनको आलोचना गरेको छ ।

एनेस्थेसिया वा दुखाई कम गर्न प्रयोग गरिने फेन्टानिल समस्याले संयुक्त राज्य अमेरिकामा ‘जरा गाडेको’ चीनले दावी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मङ्गलबार चीनमा रहेका २५ व्यक्ति र संस्था तथा क्यानडाका अन्य तीन समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।


अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले मङ्गलबार एक अमेरिकी सञ्चारमाध्यमसँग लिएको अन्तर्वार्तामा फेन्टानिलको विश्वव्यापी आपूर्ति शृङ्खला ‘प्रायः चीनबाट सुरु हुन्छ’ भनेका थिए ।

बेइजिङले बुधबार वासिङ्टनको चीनविरोधी आरोपको खण्डन गर्दै भनेको छ, ‘फेन्टानिलजस्ता पदार्थको कडा नियमन गर्ने चीन सरकार सम्भवतः विश्वमै पहिलो मुलुक हो ।’

बेइजिङको विदेश मन्त्रालयले भनेको छ, ‘हामी चिनियाँ संस्था र व्यक्तिहरूविरुद्ध संयुक्त राज्य अमेरिकाको प्रतिबन्ध र अभियोजनको कडा विरोध गर्दै सम्बन्धित उद्यम र व्यक्तिहरूको कानुनी अधिकार र हितको गम्भीर उल्लङ्घन भएको ठहर गर्दछौं ।’

‘चीन सरकारले लागुऔषध अपराधमा कडाइका साथ कारबाही गरिरहेको छ । हामी अग्रगामी रसायनहरूमा कडाभन्दा कडा नियन्त्रण लागू गरिरहेका छौं,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

मन्त्रालय स्रोतले भनेको छ, ‘संयुक्त राज्य अमेरिकामा फेन्टानिल सङ्कटले देशैभरी जरा गाडेको छ ।’ संयुक्त राज्य अमेरिकाविरुद्ध ‘गम्भीर आपत्ति’ दर्ता गरिएको जनाउँदै मन्त्रालयले भनेको छ, ‘दबाब र प्रतिबन्ध लगाउँदा अमेरिकाको आफ्नै समस्या समाधान हुन सक्दैन । यसले लागुऔषध नियन्त्रणमा चीन–अमेरिका सहकार्यमा अवरोध मात्र खडा गर्नेछ ।’