पूर्व माओवादी लडाकु अधिकारी प्रधानसेनापति बन्ने कुरा गलत हो : उपप्रधानमन्त्री खड्का



काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने विषयलाई जोडेर गलत प्रचार गरिएको दाबी गरेका छन् ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा बोल्दै खड्काले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पर्दै अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्ने भ्रम नछर्न आग्रह गरेका हुन् ।


उनले भने- ‘अहिले केही सञ्चारमाध्यमबाट गजबको विषय, गलत सूचनामा आधारित झुटो सूचनामा आधारित ठूलो भ्रम सिर्जना गर्ने काम भइरहेको छ । नेपाली सेनाको भावी प्रधानसेनापति बन्ने सन्दर्भलाई जोडेर । गलत सूचनालाई सञ्चारमाध्यममा प्रकाशित गर्दा त्यसले संस्थामा पार्ने नकारात्मक प्रभाव, संस्थाका बारेमा भ्रम र अन्योल हुन्छ ।’

उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको बताउदै नेपाली सेनाको प्रधानसेनापति हुन निश्चित मापदण्ड रहेको बताए ।

उनले सेनाको विधानबाहिर गएर सरकारले कुनै काम नगर्ने र यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गरे । उनले भने- ‘अहिले सेनाको नियमावली चलाएर केके गरेर यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्ने केही सञ्चारमाध्यमले समाचार बनाए । आज पनि एउटा लेख देखेँ, नियमावलीमा यताउति गरेर केही गर्न खोजिँदै छ भन्ने । यी सबै कुरा मिथ्या हुन्, झुटो हो । नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड छ ।’

सैनिक नियमका आधारभन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने विषय कल्पना पनि गर्न नसकिने बताउदै खड्काले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको बताए ।