नेपालीको सुरक्षाका लागि इजरायली प्रधानमन्त्रीसँग कुरा गर्न सरकारलाई एमालेको सुझाव



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीहरुको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए ।


उनले भने, ‘सरकारलाई आग्रह गर्न चाहन्छु, यति ठूलो विपत्ति आइलागेको छ, एक मिनेट पनि ढिला गर्नु हुँदैन । यो मुलुकमा सरकार छ, राज्य छ भने यसमा एउटा विज्ञप्ति जारी गरेर, सदनमा विवरण दिएर मात्र हुँदैन, प्रधानमन्त्रीले नेतान्याहुलाई फोन गरेर भन्नुपर्यो, सिधा छलफल गर्नुपर्छ भन्ने ठान्छु ।’

उनले आक्रमणमा परी घाइते भएका नेपालीहरुको उपचार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए । विदेशमा रहेका नागरिकहरुको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीले बताए ।

उनले अहिले राष्ट्रसंघको महासभाका कतिपय बैठकहरु चलिरहेको भन्दै त्यी बैठकमा पनि नेपाली प्रतिनिधिहरुले बैठकको ध्यानाकर्षण गर्नुपर्ने बताउ । गिरीले जहाज चार्टर गरेर भए पनि नेपालीहरुको उद्धार हुनुपर्ने बताए ।