नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्रीसहितको टोली इजरायल प्रस्थान



काठमाडौं । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

बुधबार राति ११ बजे इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ। उक्त जहाजले शनिबार भएको प्यालेस्टानी आतंककारी हमास समुहको आक्रमणका कारण इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ।


निगमको एयरबस ३३० जहाज स्थानीय समयअनुसार आज बिहान ९ः१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । पहिलो चरणमा आज २ सय ५४ विद्यार्थी मात्र ल्याइने छ ।

सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ। इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नल्याउने भएको छ। हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छन् । आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएका थिए ।

इजरायल सरकारले नेपाली विद्यार्थीको शव तत्काल हस्तान्तरण गर्ने अवस्था नदेखिएकाले केही समय कुर्नुपर्ने अवस्था देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।