काठमाडौँ । सरकारले इजरायलबाट नेपाल फर्किन चाहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विमान पठाउने भएको छ ।
परराष्ट्रमन्त्रालय स्रोतका अनुसार नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई हुदै इजरायल जाने भएको हो ।
सरकारले यसअघि नै नेपाल एयरलाइन्सको विमानलाई इजरायल पठाउन तयारी अवस्थामा राखेको थियो ।
इजरायलस्थित नेपाली दुताबासले नेपाल फर्किन चाहनेको सूची तयार गरेको र अहिलेसम्म करिब ३५० ले नेपाल फर्किन आफ्नो नाम दर्ता गरेको दुताबासले बताएको छ । गत शनिबार हमास समुहको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि अन्य विद्यार्थीहरुले नेपाल फर्काउन आग्रह गर्दै आएका छन् ।
इजरायलमा हाल ४५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् भने इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् ।