दोलखाको लामाबगरमा ढुंगामुनि लुकाएको चार किलो सुन बरामद



दोलखा । प्रहरीले दोलखाको लामाबगरबाट थप चार किलो सुन बरामद गरेको छ । विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार चार किलो सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिएका छन् ।

सुन लुकाउने व्यक्तिको पहिचान भएको र उनी फरार रहेका उनले बताए । यो सहित प्रहरीले पाँच दिनमा ११ किलो सुन बरामद गरेको छ । सुन तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीले विगुबाट बुधबार ४ किलो र शुक्रबार ३ किलो सुन बरामद गरेको थियो ।