अछाम । हिन्दूहरुको महानचाँड दसैँ सकिएसँगै जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउनेलगायत प्रशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो ।
बिहानैदेखि सेवाग्राही लाइनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ । लामो समयदेखि रोजगारीको सिलसिलामा भारत गएका र काठमाडौँलगायत विभिन्न ठाउँमा अध्ययनका लागि गएका विद्यार्थी दसैँ र तिहार मनाउन घर फर्केसँगै विभिन्न कामको लागि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भीड लाग्न थालेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।
दसैँ र तिहार अघि सेवा लिनेको सङ्ख्याभन्दा अहिले सेवाग्राहीको सङ्ख्या बढेको उनको भनाइ थियो । सेवाग्राहीको भीड बढे पनि कार्यालयले आधा घण्टामै सेवा प्रदान गरिरहेको छ । कर्मचारी अभाव हुँदा पनि आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडभाडसमेत कम भएको छ ।सेवाग्राहीले आवश्यक सम्पूर्ण कागजात पुर्याए ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताए ।
उक्त कार्यालयमा अहिले २२ कर्मचारीको दरबन्दी रहेको छ । दरबन्दीअनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि सहायक प्रमुख जिल्ला अधिकारीको अभाव विगत वर्षदेखि नै हुँदै आएको छ ।
दुई प्रशासकीय अधिकृतको दरबन्दीमा एक प्रशासकीय अधिकृत, पाँच नायब सुब्बाको दरबन्दीमा एक नायब सुब्बा, तीन खरिदारको दरबन्दीमा दुई जना र दुई कम्प्युटर अपरेटरको दरबन्दीमा करारका कर्मचारी काम गरिरहेका छन् । यसअघि असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत रामप्रसाद शर्मा र यादव भण्डारीलाई यहाँ सरुवा गरे पनि उनीहरूको उपस्थिति भएको थिएन ।
कर्मचारीको अभावमा समेत जिल्ला प्रशासन कार्यालयले ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि टाढा टाढाबाट आएका नागरिकलाई निकै सहज भएको छ । नागरिकता लिनकै लागि जिल्लावासी दु्ई दिन लगाएर मङ्गलसेन आउने गरेका छन् । जिल्लामा एक मात्र इलाका प्रशासन कार्यालय रहेको विनायकमा एक जना कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको छ ।