काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले जसपा सामाजिक लोकतान्त्रिक पार्टी भएकाले कम्युनिस्ट हुन नसक्ने बताए ।वर्तमान अवस्थाको समाजवादी मोर्चा कम्युनिस्ट पार्टी अथवा साम्यवादी मोर्चामा रुपान्तरित हुन नसक्ने समेत उनले प्रष्ट पारेका छन्
अध्यक्ष यादवले भनेका छन्, ‘एउटा समाजवादी पार्टीको लोकतान्त्रिक पार्टी र कम्युनिस्ट पार्टीहरुबीच सहकार्य र मोर्चा मात्र हुन सक्छ ।’
यादवले भनेका छन्, ‘हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक, आर्थिक शोषण, उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिस्ट वा साम्यवादी हुन सकिँदैन ।’ यसबाट भ्रमित र दुबिधामा नरहन समेत यादवले आम समाजवादीहरुलाई अपिल गरेका छन् ।
वर्तमान अवस्थामा जसपा, नेपाल सम्मिलित समाजवादी मोर्चालाई कतिपयले साम्यवादी मोर्चाको रुपमा बुझ्ने, बुझाउने गरेको र त्यसले पार्टीपंक्तिमा केही भ्रम सिर्जना गरेको सन्दर्भमा पार्टीको उक्त धारणा सार्वजनिक भएको पार्टीका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।