जलहरी प्रकरण : सदस्य सचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीमा अनियमितता पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका ३ जना अधिकारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कोषका सदस्य सचिव डा.मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालसहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो । तत्कालिन सदस्य सचिव थापा हाल कोषको सदस्य सचिव छन् ।

सदस्यसचिव थापा, पूर्वसदस्य सचिव ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

पशुपतिमा चढाइएको सुनको जलहरी सम्बन्धमा अख्तियारले तौल नापजाँच गरेर अनुसन्धान गरेको थियो ।