जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन् ।

विजयादशमीको उपलक्ष्यमा आज शुभकामना दिँदै उनले विभिन्न समुदायबीच एकता, सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्घि गर्न पर्वको संरक्षण गर्नुपर्ने बताएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।


अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्न समाजवादी अर्थव्यवस्था कार्यान्वयन तथा जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिनुपर्नेमा जोड दिएका छन् ।

सुशासन, समृद्धि र सामाजिक न्यायको आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सक्नुपर्नेमा जोड दिँदै नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो औँल्याएका छन् ।