इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतङ्ककारीहरूलाई लखेट्न भएको सङ्घर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो दाबी गरेको हो ।
इजराइली प्रतिरक्षा फौज (आइडीएफ) का प्रवक्ता डेनियल हगारीले त्यहाँ अझै पनि आतङ्ककारीहरू हुनसक्ने भएकाले खोजी जारी रहेको बताए । हगारीले इजराइल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानहरूले सुरक्षित बनाउने बताए । इजराइली समुदायहरूमा आक्रमण गर्दा शनिबार हमास लडाकुहरूले उक्त पर्खाल भत्काएका थिए ।
हमासका लडाकुहरूले आक्रमण गरेको केही घन्टामै इजराइलले जगेडामा राखिएका तीन लाखभन्दा बढी सैनिकहरूलाई परिचालन गर्ने गर्ने घोषणा गरेको थियो । हमासको रकेट आक्रमणमा परी इजराइली अधिकारीहरूले कम्तीमा सात सय नागरिक मारिएका र दुई हजार तीन सयभन्दा बढी घाइते भएका बताएको छ ।