गाजा अस्पताल आक्रमणको राष्ट्रसंघद्वारा निन्दा



संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका हुन् ।

‘स्तब्ध छु । आज राति, सयौं मानिसहरू मारिए – भयानक रूपमा – गाजा शहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र देखेका परिवारहरू पीडित भएका छन् ।’


प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा ५०० प्यालेस्टाइनी मारिएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो। ‘हामीलाई यो नरसंहारको पूर्ण मात्रा थाहा छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्छ,’ यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ टर्कले भने ।

नागरिकहरूलाई सुरक्षित गर्नुपर्दछ र मानवीय सहायता प्रदायकहरूलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्ने उनले बताए । मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मङ्गलबार दिउँसो आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो। त्यहाँ शरण खोजिरहेका करिब ४ हजार मानिसहरूले लागि आश्रय लिइरहेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ।

डब्ल्युएचओले भनेको छ, ‘अस्पताल सञ्चालनमा थियो, बिरामीहरू, स्वास्थ्यकर्मीहरू र आन्तरिक रूपमा विस्थापित मानिसहरू त्यहाँ आश्रय लिएका थिए । यो अस्पताल इजरायली सेनाबाट निकासी आदेशको सामना गरिरहेका गाजा पट्टीको उत्तरमा अवस्थित २० मध्ये एक हो।
डब्ल्युएचओले नागरिक र स्वास्थ्यकर्मीहरूको तत्काल सक्रिय सुरक्षाको लागि आह्वान गर्दछ, निकासी आदेशहरू उल्टाउनुपर्दछ, र अन्तरराष्ट्रिय मानवीय कानूनको पालना गरिनुपर्छ, जसको अर्थ स्वास्थ्य सेवा सक्रिय रूपमा सुरक्षित हुनुपर्छ र आक्रमणबाट लक्षित गरिनु हुँदैन।’