गाजामा आक्रमणका लागि हामी तयार छौँ : आईडीएफ प्रमुख



इजराइल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथस्थल सेना गाजामाथि ‘आक्रमण’का लागि तयार रहेको घोषणा गरेको छ ।

इजराइलको दक्षिणी सीमामा पत्रकारहरूलाई जानकारी दिँदै आईडीएफ प्रमुख हर्जी हलेवीले भने, “हामी आक्रमणका लागि तयार छौँ भन्नेबारमा म स्पष्ट हुन चाहन्छु ।”


उनले आईडीएफ मुलुकको राजनीतिक क्षेत्रसँगको समन्वयमा गाजामाथि स्थल आक्रमणको ‘सटिक समय’मा निर्णय लिने प्रक्रियामा रहेको बताए ।

अक्टोबर ७ मा हमासको इजराइलमाथि आतङ्ककारी हमलापछि गाजामाथि जवाफी आक्रमणमा भएको ढिलाइबारे उनले भने, “यो चरणमा सामरिक र रणनीतिक कारक छन्, हामीलाई तयार रहन र सुधार गर्न प्रत्येक मिनेटको उपयोगका लागि धेरै समय प्राप्त हुन्छ ।” उनका अनुसार प्रत्येक मिनेट गुज्रिँदा दुश्मनमाथि अझ धेरै हमला भइरहेको छ ।

“अर्को पक्षमा प्रत्येक मिनेट खेर जाँदा हामी शत्रुमाथि धेरै हमला गरिरहेका छौँ, उसका लडाकूलाई मारिरहेका छौँ, उसका कमान्डरहरूलाई मारिरहेका छौँ, उसको पूर्वाधारलाई नष्ट गरिरहेका छौँ र अर्को कदमका लागि धेरै जासुसी जानकारी बटुलिरहेका छौँ”, हमासले इजराइली आक्रमणका लागि जति लामो समय पर्खिरहन्छ त्यति नै तनावग्रस्त हुने उल्लेख गर्दै उनले भने, “हामीले उनीहरूलाई तनावमा राखेका छौँ ।”