गठबन्धन भत्काउने सपना कसैले नदेखे हुन्छ : प्रधानमन्त्री



रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तामा सत्ता गठबन्धन पाँच वर्ष नै जान्छ, कसैले भ्रम नपाल्दा हुने बताएका छन् ।

बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष कायम रहने बताएका हुन् ।


प्रधानमन्त्रीले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो। गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् । तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु– यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ । गठबन्धन भत्काउने सपना कसैले नदेखे हुन्छ ।’

माओवादीको आधार इलाका पुगेर प्रधानमन्त्री प्रचण्डले क्रान्तिको समयमा रुकुम र रोल्पाका जनताले पुर्याएको योगदानको स्मरण गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

उनले भने, ‘क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गर्थें । तपाईहरूले क्रान्तिको रक्षा गर्नुभयो, नीति र नेतृत्वको रक्षा गर्नुभयो । शान्ति प्रक्रियापछि पनि तपाईंहरूसँग बढी आएको छु । यो आधार इलाकाबाट उर्जा लिएर फर्किने गरेको छु । मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ ।’