कोशी प्रकरण छलफल गर्न देउवाले बोलाए बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीमा डा. शेखर कोइरालाले गरेको विद्रोह बारेमा पार्टी पदाधिकारीसँग छलफल गर्ने भएका छन् । सभापति देउवाले कोशी प्रकरणमा छलफल गर्न उपसभापति र महामन्त्रीहरूलाई छलफलको लागि बोलाएका हुन् । 

देउवाको सचिवालयका अनुसार छलफल देउवाको धुम्वाराहीस्थित निवासमा आज अपराहन्न ४ बजे बस्दै छ ।


देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र कानुनमन्त्री समेत रहेका धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लागेका हुन् ।

कोशीमा नेता डा. शेखर कोइरालाले एमालेको सहयोगमा पार्टीको लाइन विपरित सरकार बनाएपछि अप्ठ्यारोमा परेका देउवाले पार्टीले आगामी दिनमा चाल्ने कदम बारे छलफल गर्न लागेको बुझिएको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीले एमालेलाई पनि सरकारमा समावेश गरेपछि सभापति देउवासहित सत्ता गठबन्धन थप सशंकित बनेका छन् ।