कोशीमा राप्रपालाई सभामुख दिने तयारी



काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री बनाउन समर्थन गरेमा राप्रपालाई सभामुख दिने सत्ता गठबन्धनले तयारी गरेको छ । सत्ता गठबन्धनको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुख दिएर राप्रपाको समर्थन लिनेबारे कुराकानी भएको बताइएको हो

बैठकमा सहभागी गठबन्धनका एक नेताका अनुसार त्यसमा राप्रपा पनि सकरात्मक रहेको छ । सत्ता गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको छ ।


कोशीको सम्भावित मध्यावधि निर्वाचन टार्नका लागि पनि राप्रपाले सत्ता गठबन्धनलाई सहयोग गर्ने संकेत दिएपछि सभामुख दिने मनस्थिति बनेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले नै यस्तो सम्भावनाबारे कुरा गरेका थिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीको सत्ता समीकरणबारे छलफल गर्न शुक्रबार पदाधिकारीको बैठक बोलाएका छन् । बिहीबार बालुवाटारको बैठकमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आफूले सरकार बनाउन कोसिस गरेकाले त्यसका लागि एकपटक प्रयास गर्न प्रस्ताव राखेका थिए ।