काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो ।
प्रदेश सांसद उद्वब थापाका अनुसार बैठकले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गर्ने र सत्तापक्षको बेञ्चमा पनि बस्ने निर्णय गरेको हो । कार्की कांग्रेस नेता शेखर कोइराला पक्षका सांसद हुन् ।
कांग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि असन्तुष्ट रहेको संस्थापन पक्षले उनलाई विश्वासको मत दिने भएको हो । त्यस्तै नेकपा एमालेले पनि कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।
११ बजे सुरु हुने भनेको प्रदेशसभा बैठक दलहरूका आन्तरिक बैठक र छलफलका कारण ढिला भएको छ । कार्कीले अहिले केहिबेरपछि बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् ।