काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन निर्माणमा आफ्नो पार्टी प्रतिपक्ष नरहने बताएका छन् । शनिबार ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने भएकाले आफूहरु प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले विद्युत विधेयक–२०८० लाई राष्ट्रिय हितमा हुनेगरी संसद्बाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि बताए । दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भएपनि त्यसलाई राष्ट्रिय हित अनुकूल हुनेगरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले भने, ‘हामी संसदमा विद्युत् विधेयकका विषयमा राम्रो छलफल गर्छौं । यो हाम्रो भूमिका भनेको प्रतिपक्षीय भूमिकाको कुरा होइन, राष्ट्रिय भूमिका हुन्छ, राष्ट्रको हितको भूमिका हुन्छ । त्यसको पक्षमा हुन्छ । हामी प्रतिपक्षको भूमिकाका आफूलाई प्रस्तुत गर्दैनौं ।’ उनले कानुन दलीय कानुन नहुने बताउँदै राष्ट्रको कानुन निर्माण हुने बताए ।