‘कानुन निर्माणको काम छोडेर मतदातालाई अलमल्याउने ढङ्गबाट चलखेल गर्ने कार्य गलत छ’



काठमाडौँ । नेकपा एमालेकी नेतृ अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताएकी छन् ।

सांसदसँग रासस संवादमा उनले कतिपय सांसद कानुन निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएको घटनाले आफूलाई अचम्मित तुल्याएको प्रतिक्रिया दिइन् । सांसद अग्रहरीले भनिन्, “जनताका प्रतिनिधिका रुपमा सङ्घीय सांसद भएर आएका छौँ, हाम्रो एउटा मात्र दायित्व देशमा गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन सक्दो प्रयासको भूमिका हुनुपर्छ ।”


उनीसग विभिन्न सङ्घ संस्थामा आबद्ध रही सेवा गरेको तथा २०४७ देखि राजनीतिमा आबद्ध भई राष्ट्रिय महिला मञ्चको अध्यक्ष भएर काम गरेको अनुभव छ । विसं २०७४ निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र २ बाट उनी निर्वाचित भएकी थिइन् । गजेन्द्र नारायणको नेतृत्व रहेको नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य, केन्द्रीय सदस्य, सह–महामन्त्री र उपाध्यक्षसम्म भएर काम गरेको अनुभव उनीसँग छ ।

विकास निर्माणको प्रमुख जिम्मेवारी रहेको स्थानीय तह र प्रदेशको अधिकारलाई बेवास्ता गर्दै विकास निर्माणमा धाउने प्रवृत्तिले हाँसोको अनुभूति भएको सुनाउँदै उनले क्षेत्राधिकारभित्र नपरेको विषयमा भ्याइनभ्याइ लाग्ने काम सुहाउँदो विषय नभएको बताइन् ।

सदनमा पुगेपछि जनता र राष्ट्रको उन्नतिका हिसाबले कायपलट गर्छाैं भन्ने सोच लिएको भए तापनि मुलुकको सर्वाेच्च निकाय संसद्मा हुने प्रस्तुति, दोषारोपण गर्ने, होच्याउने र मानमर्दन गर्ने प्रवृत्ति मौलाएकामा आफूलाई चित्त नबुझेको उनले बताइन् ।

निर्वाचन भएको १० महिना बितिसक्दासमेत एउटाबाहेक विधेयक अघि बढ्न सकेको बताउँदै नेत्री अग्रहरीले सदनलाई विजनेश दिने र विधेयक ल्याउने मुख्य जिम्मेवारी सरकारकै रहेको हुँदा कानुन बनाउने मामिलामा सरकारले आवश्यक चासो नदिएको आरोप लगाइन् ।

उनले भनिन्, “राष्ट्र र जनताको चासो एकातिर छ, सरकारको नीति तथा कार्यक्रम अर्काेतर्फ छ, विधेयक पनि दल विशेषको स्वार्थबाट आउँछ, त्यसले सहमति जुटाउने अप्ठेरो हुन्छ ।”

सांसदको बोली, व्यवहार र प्रस्तुतिप्रति जनतामा धेरै गुनासो रहेको बताउँदै उनले मुलुकको सर्वाेच्च निकायमा बस्ने सांसदले कम्तीमा संस्थाको गरिमालाई बुझेर मात्र आफ्नो अभिव्यक्ति सुझाव दिइन् ।

नेत्री अग्रहरीले भनिन्, “सदनको गरिमा नबुझिकन जुन किसिमले जथाभावी बोल्नुहुन्छ, बोलेको विषय फिर्ता लिने र रेकर्डबाट हटाउनुपर्ने अवस्था जनप्रतिनिधिका लागि सुहाउँदो होइन, यो देशका लागि दुर्भाग्य हो, यस्तो प्रवृत्ति देखेर जनता चिन्तित र निराश छन् ।”

संसदमा प्रतिपक्षले बोलेको कुरा सरकार र सत्तापक्षले हलुका ढङ्गबाट लिने गरेको बताउँदै उनले बोल्नका लागि बोल्ने धेरै तथा जिम्मेवारपूर्वक काम गर्ने तथा जनता र राष्ट्रको पक्षमा चिन्तन मनन गर्ने थोरै भएकाले सुशासनको पाटो कमजोर र भ्रष्टाचार मौलाएको बताइन् ।

भुटानी शरणार्थी, विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिएको प्रकरण तथा ललिता निवास जग्गासँग संलग्न नेतृत्वलाई संरक्षण गरिएको आरोप लगाउँदै सांसद अग्रहरीले जनताले निर्वाचनमार्फत खोजेको सुशासन, विकास र समृद्धिका मुद्दा भने राज्यकै कारण ओझेलमा परेको प्रतिक्रिया दिइन् ।

सांसद विकास कोषका सन्दर्भमा अदालतबाट भएको फैसलाको पूर्ण समर्थन रहेको जनाउँदै उनले सघीय सांसदको मुख्य जिम्मेवारी भनेको मात्र राष्ट्रको कानुन बनाउनमै केन्द्रित हुुनुपर्ने बताइन् ।

सांसद अग्रहरीले भनिन्, “कानुन निर्माणको काम छोडेर अन्यत्र धाउने, जिल्लामा पनि मतदातालाई अलमल्याउने ढङ्गबाट चलखेल गर्ने कार्य गलत छ । सांसदको जिम्मेवारीभित्रको विषय नभएकाले उनीहरुलाई त्यो कोषमार्फत योजना छनोट गर्न दिनुहुन्न ।”

उनले लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने दल र व्यक्ति भएको नाताले संविधान, नीति, प्रणाली र व्यवस्था ठीक भए पनि यसलाई नेतृत्व दिने र कार्यान्वयन गर्ने पक्षको नियत भने ठीक नदेखिएको विचार प्रकट गरिन् ।

सांसद अग्रहरीले भनिन्, “हाम्रो देशमा नीति, नियम र ऐन ठीक छ, कार्यान्वयन पक्षको नियत भने आजसम्म ठीक देखिरहेको छैन । व्यवस्थामाथि औँला उठाउन सकिन्न व्यक्तिको कार्यशैलीप्रति आँैला ठड्याउन सकिन्छ ।”

उनले जनतालाई निराश नहुन आग्रह गर्दै भनिन्, “धैर्यता कायम राख्नुस्, सोचेअनुरुप नभए पनि नेपालको भविष्य उज्वल छ, हामी तपाईहरुलाई हाम्रो सदासर्वदा साथ र सहयोग रहन्छ ।”