एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित



काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितामा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए । 

आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अंकले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अंकले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अंकले उछिन्यो । अन्तिम सेटमा नेपाल १५–१२ अंकले विजयी बन्यो ।  


यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३–० को सोझो सेटमा पराजित भएको थियो । हङकङले नेपाललाई २५–२२, २५–१६ र २५–१८ अंकले पराजित गरेको थियो । यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३–१ सेटले पराजित भएको थियो । भारत उक्त खेलमा २५–२३, २६–२८, २५–२३ र २५–१७ अंकले विजयी भएको थियो । 

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४–२५, १६–२५ र १३–२५ अंकले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१–२५, १४–२५ र ११–२५ अंकले पराजित भएको थियो ।