एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त, भारतसँग २३ रनले पराजित



काठमाडौँ । १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ ।

चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा आज बिहान भएको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो ।


भारतले जितका लागि दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७९ रनमा समेटियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन जोडे । यस्तै, सन्दीप जोरा र कुशल मल्लले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ तथा आसिफ शेखले १० रन बनाए ।

भारतका रवि विश्रोई र आवेश खानले ३–३ विकेट लिए । यस्तै, अर्शदीप २ र साई किशोरले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो ।

भारतका यशस्वी जयसवालले एक सय रनको शतक पूरा गरे । यस्तै, रिंकु सिंहले ३७, कप्तान ऋतुराज गायकवाड र शिवम दुवेले २५–२५ रन बनाएका थिए ।

नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।