एक महिनामा नै ४५० ले बढ्यो एलपी ग्यासको मुल्य, अब प्रति सिलिन्डर २११० रूपैयाँ



काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ। निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो।

यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ। भाउ बढेसँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासको २१ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ। यसैगरी, काठमाडौंमा पेट्रोलको प्रतिलिटर १८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ।


इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिददरका आधारमा मूल्य समायोजन गरिएको आयाल निगमको भनाइ छ।

चाडपर्व नजिकिएको छ। पर्वको मुखमा यसरी भाउ वृद्धि गरिँदा सर्वसाधारण भने चर्को मारमा परेका छन्। खाना पकाउने ग्याससहितका पेट्रोलियम पदार्थमा यसअघि पनि मूल्य वृद्धि गरिएको थियो। विेशेषगरी पछिल्ला २ पटक यता ग्यासको भाउ बेस्सरी बढाइएको छ।

१ महिनाको अवधिमा खाना पकाउने ग्यासमा मात्रै ४५० रुपैयाँ मूल्य वृद्धि भइसकेको छ। आयल निगमले भने स्वचालित मूल्य प्रणाली लागू भएको बताएको छ। इन्डियन आयल निगमको नयाँ मूल्य सूचीकै आधारमा भाउ बढाइएको दाबी गरेको छ।

स्वचालित प्रणाली अनुसार भाउ बढ्दा बढाउने अनि घट्दा घटाउने गरिन्छ। पेट्रोलियममा भाउ वृद्धि हुँदा सार्वजनिक यातायातको भाडमा पनि प्रभाव पर्ने गरेको छ। यसैगरी, ढुवानी खर्च बढ्दा यसले समग्ररुपमै मूल्य वृद्धि गराउँछ।