काठमाडौं । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्रीलाई पत्र लेख्दै उद्धारको पहल गरिदिन आग्रह गरेका छन् । इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै उद्धारको पहल गरिदिन आग्रह गरेका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सुरज इजरायल गएका थिए।
उनले कृषि तथा वन विज्ञान विश्वविद्यालय बाट स्नातक सकिनै लागेका ११४ जना विद्यार्थी इजरायल र हमासको द्वन्दको चपेटामा फसेको जानकारी दिएका छन् ।
पत्रमा उनले लेखेका छन्, ‘११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गैइराखेको छ। हाम्रो आत्माबल घट्दै गैराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौं, अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन्। आकाशमा चरा उडेको देखेको हामी, आज मिसाइल र फाइटर पेलेन देख्नुपरेको छ। तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्की राखेको देखेर त्रसित छौं। बंकरमा लुक्यो भने बंकर भित्रनै छिरेर आक्रमण भैराखेको छ। हामी हाम्रा सुदुर पश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ। हामी स्तब्ध छौं, हमलामा पर्यौं भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन। लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुद्नु परेको छ। नखाउ भने भोक र प्यास लाग्छ, खाउ भने बाहिर सौचालय जान डर लाग्छ। आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइरहेको छ। विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन। यो युद्ध लामो छ हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ ।’