काठमाडौं । सरकारले इजाजत नलिई मोबाइलहरूमा देखिने गरी सञ्चालन भइरहेको ओटीटी, भिओडी र आइपीटीभीजस्ता एपहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
सूचना तथा प्रसारण विभागले सूचना जारी गर्दै इजाजत पत्र नलिई सञ्चालन गरिरहेका संस्थाहरूलाई ओटीटी तथा भिओडीहरु बन्द गर्न भनेको हो ।
नेपालमा व्यक्तिको हात हातमा रहेका स्मार्ट फोनमा निर्वाध रुपमा इजाजतबिनाका स्वदेशी तथा विदेशी टेलिभिजन तथा अनलाइन प्लेटफर्महरू सञ्चालनमा छन् । यो गैरकानूनी मात्र छैन, यसबाट अर्बौँको राजश्व समेत सरकारले गुमाइरहेको छ ।
विभागबाट इजाजत पत्र लिएर मात्र ती भिडिओ अनलाइन प्लेटफर्महरू सञ्चालन गर्न समेत विभागले भनेको छ ।
नेपाली एपहरू डिसहोम गो, नेट टिभी मोबाइल एप, भाया टिभी मोबाइल एपलगायत ओटीटीहरु सञ्चालनमा छन् ।