काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमाथि हमासले गरेको आक्रमणमा परी नेपालीहरुको मृत्यु भएको घटनाबाट आफू मर्माहत भएको जनाएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्रीले आज बसेको मन्त्रिपरिषदको विशेष बैठकले घटनामा दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न असोज २३ गते राष्ट्रिय शोक घोषणा गरेको जानकारीसमेत दिएका छन् ।
बैठकले इजरायल सरकारसँग समन्वय गरी निधन भएकाहरुको शव नेपाल ल्याउने, राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, बेपत्ताको खोजी र घाइतेको उपचारको समन्वय गर्ने, नेपाली नागरिकलाई स्वदेश फर्काउन हवाई चार्टरको व्यवस्था गर्नेलगायतका निर्णय गरेको छ ।
यो दुःखद र कठिन घडीमा धैर्यतापूर्वक सम्हालिएर अघि बढ्नसमेत प्रधानमन्त्रीले सबैलाई अपिल गरेका छन् ।