काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ । उनीहरुलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको सो समुहमा रहेका विद्यार्थी लुइस रिजालले जानकरी दिएका हुन् ।
उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । ‘बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ’ रिजालले भने, ‘अलग अलग क्याम्पबाट उद्धार गरिएको हो।’ अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको उनले बताएका छन् ।
उनीहरुले अहिले सुरक्षित महसुस गरेको र सरकारले छिटो नेपाल फर्काउने व्यवस्था गर्न आग्रह समेत गरेका छन् ।
इजरायलस्थित नेपाली दुताबासको पहलमा इजरायली सेनाले उनीहरुको उद्धार गरेको हो । दुताबासले उनीहरुलाई तेलअभिभमा ल्याउने बताएको छ ।