आङबोको नेतृत्वमा कोशीमा सरकार गठन गर्ने गठबन्धनको निर्णय



काठमाडौं । सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङबोको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले आङबोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । 


नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतबहादुर कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था भएपछि गत शनिबार राजीनामा दिएका थिए । यससँगै कोशीमा कुनै दलको स्पष्ट बहुमत नआएका कारण मिलिजुली सरकार र सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने व्यवस्थाको अभ्यास असफल भएको थियो ।

सोही कारण गत शनिबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले  संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । उपधारा ५ मा सभाको बहुमत प्राप्त गर्ने सक्ने व्यक्ति मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ । यो कोशी प्रदेशमा सरकार बनाउने संबिधान अनुसारको अन्तिम विकल्प हो । 

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी गर्न दिएको म्याद शुक्रबार सकिँदै छ ।