चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने बताएका छन् । बेइजिङमा अमेरिकी सिनेटरहरूको समूहसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।
वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने पछिल्लो उच्च तहको अमेरिकी अधिकारी हुन् ।
सुमरसँगको भेटमा राष्ट्रपति सीले चीन–अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा कारण नभई सुधार्नका लागि एक हजार कारण छन् भनेर आफूले थुप्रै राष्ट्रपतिसँग धेरै पटक भन्दै आएको बताए ।
उनले चीन–अमेरिका सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताए । जवाफमा सुमरले राष्ट्रपति सीलाई दुई देशको सम्बन्धलाई जिम्मेबार र सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्ने बताए । यसअघि चीनका विदेशमन्त्री वाङ यीले वासिङ्टन र बेइजिङले आफ्ना मतभिन्नताहरूलाई ‘तर्कसङ्गत’ व्यवस्थापन गर्नसक्ने आशा व्यक्त गरेका थिए ।