अपहरण गरिएका फिर्ता नभएसम्म गाजामा विद्युत, पानी र इन्धन आपूर्ति बन्द हुने



इजरायलले हमासले अपहरण गरेका नागरिक रिहा नगरेसम्म गाजामा विद्युत, पानी र इन्धन आपूर्ति बन्द रहने स्पष्ट गरेको छ । इजरायलका उर्जामन्त्री इजरायल काट्जले बिहीबार हमासद्वारा बन्धक बनाएकाहरू फिर्ता नभएसम्म गाजालाई कुनै पनि बिजुली, पानी वा इन्धन प्रदान नगर्ने बताएका हुन् ।

उनले भनेका छन्- ‘कुनै बिजुलीको स्विच खोलिनेछैन, पानीको हाइड्रन्ट खोलिनेछैन र बन्धक बनाइएका इजरायलीहरू घर नफर्केसम्म कुनै पनि इन्धनको ट्रक भित्र पस्ने छैन । मानवीयताका लागि मानवीयता । र कसैले हामीलाई नैतिकताको पाठ पढाउने छैन ।’


शनिबार हमासले इजरायली क्षेत्रमा आक्रमण गरेर १५० जना इजरायलीसहित कैयौं विदेशी नागरिकलाई अपहरण गरेर गाजा लागेका थिए । हमासले इजरायलले गाजामा आक्रमण नरोकेमा अपहरण गरिएकालाई मृत्युदण्ड दिन थाल्ने चेतावनी दिएको छ ।

इजरायलले बन्धकहरूको अवस्था ‘अत्यन्तै संवेदनशील र जटिल विषय’ भएको बताएको छ । यस युद्धमा अहिलेसम्म दुवैतर्फ २३ सयभन्दा बढीको मृत्यु भएको छ ।