स्वास्थ्यमन्त्री बस्नेत दिल्ली प्रस्थान



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एशिया क्षेत्र (सेरो)को पूर्ण बैठकमा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सहितको टोली भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेको छ।

बैठकमा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत, मन्त्रालयका सचिव डा रोशन पोखरेल, मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, डा दिपेन्द्ररमण सिंहलगायत रहेको नेपाली टोली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् । बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्दैछ।


भारतको नयाँ दिल्लीमा हुने उक्त बैठकले दक्षिणपूर्वी एशिया क्षेत्रको नेतृत्वमा उम्मेदवारी दिएका दुई उम्मेदवार नेपालका डा शम्भु आचार्य र बंगलादेशकी साइमा वाजेदमध्ये एक जनालाई छनोट गर्नेछ ।

सोमवारदेखि ४ दिनसम्म चल्ने बैठकले क्षेत्रीय निर्देशकको चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ।

डब्लूएचओ सेरोमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स, उत्तर कोरिया, इन्डोनेशिया, थाइल्याण्ड र म्यान्मा गरी ११ सदस्यीय राष्ट्र छन् तर म्यान्मालाई अहिले मतदानको अधिकार दिइएको छैन । यसपटक १० देशले मात्र मतदान गर्नेछन् ।