राजनीतिक दल नयाँ पुरानो भन्ने हुँदैन : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘नयाँ हुँ’ भन्ने राजनीतिक दलले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताएका छन् । रास्वपाप्रति संकेत गर्दै शर्माले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरूले आफूलाई ‘नयाँ हुँ’ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने बताएका हुन् ।

शनिबार दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सकियो भन्न नमिल्ने बताए ।


मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरू एकजुट भएर अघि बढनुपर्ने उनले आवश्यकता औंल्याए । महामन्त्री शर्माले भने, ‘कसैले भन्दैगर्दा पुरानाका दिन गए । पुराना धर्म शास्त्र पनि हो । पुराना चाँही यो धर्ती पनि हो । पुराना भन्ने चीज त्यति सजिलै जाँदैन । नयाँ भन्ने पनि मितिले भनेर हुँदैन । विश्वप्रकाश संसदमा पहिलो पटक छ, नयाँ हो । तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नुपर्छ ।’

उनले कुनै दल वा व्यक्तिले पनि नयाँजन्म मितिले भनेरमात्रै नपुग्ने भन्दै उनले भने, ‘नयाँ चाँही प्रवृत्तिमा, संस्कृतिमा हुन्छ । कुनै राजनीतिक दल पुराना हुँदैमा हामी आफैंमा विदाइ पनि हुन्नौं ।’