युक्रेनलाई करिब ५० युरोपेली नेताको समर्थन



स्पेन । पश्चिमी प्रतिबद्धता केही कमजोर भएको बेला युक्रेनको पक्षमा उभिन जोड दिन बिहीबार दक्षिणी स्पेनको ग्रानाडामा युरोपेली युनियनका करिब ५० नेताहरू भेला हुँदैछन् ।

युरोपेली राजनीतिक सामुदायिक मञ्चको बैठकमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी छन् । उक्त मञ्च सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसले गरेको आक्रमणको परिप्रेक्ष्यमा गठन भएको थियो ।


उक्त आक्रमणसँगै युरोपको राजनीतिक एजेन्डालाई धेरै हदमा फरकरूपमा स्थापित गर्यो र यस महादेशमा शान्ति र स्थायित्वमा लामो समयदेखि कायम विश्वासलाई मूलभूतरूपमा कमजोर बनायो । राजनीतिक, आर्थिक र सैन्य सहयोगका बावजुद युक्रेनी क्षेत्रमा रुसी आक्रमणबाट मुक्त बनाउने दिशामा गतिरोध कायमै छ ।

यद्यपि ग्रानाडामा युरोपेली नेताहरू युक्रेनको पक्षमा एकजुट भएको कुरामा जोड दिन इच्छुक छन् । ‘जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट हुने खतराको सामना गर्ने कुरा आउँछ, एकतामा शक्ति हुन्छ’, बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने ।
बिहीबार जेलेन्स्की ग्रानाडामा आइपुग्दा युरोपेली नेताहरूले यस्तो सन्देश दिनेछन् । यसै वर्षको सुरुमा जेलेन्स्की मल्दोभामा भएको इपीसीको दोस्रो बैठकमा पनि उपस्थित भएका थिए ।

जेलेन्स्कीले सबै सहयोगीहरूलाई थप सहयोग र सैन्य सहायता उपलब्ध गराउन अगाडि आउन आग्रह गर्ने अपेक्षा गरिएको छ ।
‘जाडो याम नजिकिँदै गर्दा युक्रेनको मुख्य प्राथमिकता भनेको हवाई प्रतिरक्षालाई सुदृढ गर्नु हो, हामीले पहिला नै साझेदारहरूसँग नयाँ सम्झौताहरूको आधार तयार गरिसकेका छौँ र अब उनीहरूको अनुमोदन र कार्यान्वयनका लागि तत्पर छौँ’, जेलेन्स्कीले विज्ञप्तिमा भनेका छन्, ‘यो युक्रेन र समग्र युरोपका लागि फलदायी दिन हुनुपर्छ ।’