मुलुकभरको सडक मर्मत कार्य सुरु भइसकेको छ : यातायात्रमन्त्री



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठकमा मन्त्री ज्वालले बर्षायामपछि सडकलाई मर्मत गर्ने भनिएपछि दशैंका कारण केही ढिलाई भएकाले अब मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु भइसकेको जानकारी दिएका हुन् ।


तिहारअघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत कार्यसम्पन्न हुने उनले बताए । उनले मुग्लीङ पोखरा, नागढुङ्गा लगायतका सडकलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । सडकको स्तरोन्नतीका क्रममा केही समस्या आएपनि त्यसलाई हल गर्दै व्यवस्थित रुपमा अघि बढाइएने उनको भनाइ छ । उनले चाडपर्वका बेला सहज रुपमा आवातजावतका लागि आवश्यक निर्देशन दिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले समयमा नै सडक निर्माण नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । समिति सदस्य प्रदीप पौडेलले बर्षौसम्म पनि एउटा पनि आयोजना सम्पन्न नहुँदा त्यसको प्रभाव धेरै देखिएपनि सरोकारवाला गम्भीर हुन नसकेको बताए ।

उनले तोकिएको आयोजना समयमा नै नसकिँदा म्याद थप्ने काम बन्द गर्नुपर्ने बताए । अन्य समिति सदस्यहरुले चक्रपथ सुधार आयोजनालाई छिटो भन्दा छिटो अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।