माले। माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी भएका छन्। प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मुइजले वर्तमान भारत समर्थक राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका छन्।
मुइज हाल देशको राजधानी माले सहरका मेयर छन्। उनलाई चीनको समर्थक मानिन्छ। उनको चीनसँग बलियो सम्बन्धमा रहेकाे मानिन्छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सबै ५८६ मतपेटिकाको नतिजा गणना गरेपछि मुइजले ५३ प्रतिशत मत पाएका हुन्। जबकि वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ४६ प्रतिशत मत पाएका थिए।
यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र मुइजबीच भएकाे थियो। यो चुनाव माल्दिभ्सका जनताले भारत र चीनबीच कसलाई नजिक राख्न चाहन्छन् भन्नेमा एक किसिमको जनमत संग्रह रूपमा हेरिएकाे थियो।
राष्ट्रपति पदका लागि शनिबार दोस्रो पटक मतदान भएको हो। सेप्टेम्बर ८ मा भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसके पछि हिजाे दाेस्राे पटक निर्वाचन भएकाे हाे।
राष्ट्रपति चुनावमा आफ्नो जितपछि मुइजले एक विज्ञप्तिमा आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिए। ‘आज धेरै खुसीको दिन हो, म माल्दिभ्सका सबै जनतालाई हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘आजको नतिजाले हाम्रो देशको राम्रो भविष्य निर्माण गर्न र हाम्रो राष्ट्रको सार्वभौमसत्ता सुनिश्चित गर्ने हाम्रो प्रयासलाई बलियो बनाउनेछ।’
उनले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई रिहा गर्न पनि सरकारलाई आग्रह गरेका थिए।