कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको शुभारम्भ गर्दै खेलकुद प्रतियोगिताले पर्यटन विकासमा टेवा पुग्ने बताए ।
कञ्चनपुर जिल्ला भलिबल सङ्घ र नेपाली सेनाद्वारा संयुक्तरूपमा आयोजित सो प्रतियोगिता भोलिसम्म जारी रहनेछ ।
प्रतियोगिताका ३२ टिमको सहभागिता रहेको छ । खुला तथा भेट्रानबीच पुरुष भलिबल प्रतियोगिता अन्तर्गत खुलातर्फ २३ टिमको र भेट्रानतर्फ नौ टिमको सहभागिता छ ।
खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार तथा भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः २५, १५ र १० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् ।
शुभारम्भका अवसरमा श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति मनोज थापा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।