बहुमत पुग्ने अवस्थामा मात्रै कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौँ : राप्रपा



विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बहुमत पुग्ने अवस्थामा मात्रै वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने बताएका छन् ।

आइतबार विराटनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङको गतिविधिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सिटौलाले विगतको निर्वाचनमा सहकार्य गरेको र प्रदेशमा राजनीतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताएका हुन् ।


कोशी प्रदेशका जनताहरुले मध्यावधि नचाहेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि ठूला दलहरु मिल्नुपर्ने उनले बताए । नेता सिटौलाले विपक्षी गठबन्धनले अहिलेसम्म राप्रपासँग समर्थन माग्नका लागि कुनै वार्ता गर्नसमेत नआएको बताए ।

उनले आगामी दिनमा र निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि सहमति गरेर मात्र अब कोशीमा बन्ने सरकारलाई सहमति दिन सकिने बताए ।

सिटौलाले जातिय सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासको आफूहरुले सधैँ विरोध गर्ने बताउदै कोशी प्रदेशका नामाकरणबारे प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिका कारण कोशी प्रदेशमा अस्थिरता उत्पन्न भएको र आन्दोलन भइरहेको आरोप लगाए ।