बझाङ । बझाङमा आज (मङ्गलवार) गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न गएका ४५ वर्षीया गुनमति धामी पहिरोमा परि बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएका विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीमध्ये केहीको जिल्ला अस्पताल र केहीको नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ
भूकम्पका कारण ३१ वटा निजी घर र केही विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक भवनहरू भत्किएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युड र दिउँसो २ बजेर ४० मिनेट जाँदा तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएका थिए ।