न्यायालयप्रति आस्था बढाउन जरुरी छ : विश्वम्भरप्रसाद श्रेष्ठ



काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताएका छन् ।

उच्च अदालत पाटनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह  छिटोछरितो हुनुपर्नेमा जोड दिए । 


“भौतिक सुविधाका साथै न्यायालयमा सेवाग्राहीको सहज पहुँच हुनुपर्छ”–प्रधानन्यायाधीश श्रेष्ठले भने, “नयाँ भवनको उपयोगसँगै अदालतको काम कारबाही उपभोक्ताको लागि सहज हुने र न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।”

न्यायालयको सुधारमा निरन्तर लागिरहेको र दुई वर्ष पुराना मुद्दा किनारा लगाउने उद्देश्यले अभियानकै रुपमा काम गरिरहेको प्रधानन्यायाधीशले बताए ।

“न्यायालयको सुधारका लागि निरन्तर प्रयास भइरहेको छ, रिक्त भएका तीनवटै तहका न्यायालयमा न्यायाधीश  नियुक्ति प्रक्रिया प्रारम्भ भएको छ,” उनले भने ।

सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएर न्यायसम्पादनलाई प्रभावकारी बनाउदै न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न उनले निर्देशन दिए  ।