चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघि नै गरिने बताएका छन् । उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँअगाडि नै भुक्तानी हुने बताए ।
आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “असार मसान्तसम्ममा रु ६० देखि ७० अर्ब तिरिसकेका छौँ । अब रु छदेखि सात अर्ब जति बाँकी होला त्यो भुक्तानी हुन्छ ।”
अर्थमन्त्री डा महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए । केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उनको भनाइ थियो ।
पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ । “सहज रुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो”, उनले भने, “अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन । जसका कारण केही व्यवसायीलाई समस्या परेको छ ।”
सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको उनको भनाइ थियो । अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उनले बताए ।