दसैंलगायत पर्वका नाममा उपहार नपठाउन लामिछानेको आग्रह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दसैंलगायत पर्वका नाममा उपहार नपठाउन आग्रह गरेका छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत् सूचना नदिई नेता विशेष वा पार्टीका नाममा कार्यालयमा उपहार पठाउन थालिएको भन्दै नपठाउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान-प्रदान गर्ने सर्वव्यापी चलन छ । जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ। व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदा–हुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको छ ।’


उनले अगाडी भनेका छन्, ‘पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरू भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको हुँ।’ उनले आफ्ना लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष (कोही/कसैमार्फत्) उपहार पठाउने कष्ट नगर्न भनेका छन् ।

उनले भनेका छन्, ‘जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेन्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरूआतको रूपमा ग्रहण गरिदिनुहुन सम्वद्ध सबैमा आग्रह गर्दछु,’