गुल्मी । लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि गुल्मी धुर्कोटका स्थानीयवासीमा खुसी थपिएको छ । यसअघि अधिकांश समय पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ ।
गाउँमा खानेपानीको मुहान नहुँदा समस्यामा परेका यस क्षेत्रका बासिन्दाका लागि धुर्कोट गाउँपालिकाले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत लिफ्टिङको माध्यमबाट वडा नं ५ अन्तर्गत वस्तुको हर्रैका घरघरमा खानेपानी पुर्याइएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए ।
उनका अनुसार यहाँका एक सय आठ घरधुरीमा खानेपानी पुगेको छ । लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्न बाध्य यस क्षेत्रका स्थानीय घरको धारामा पानी आएपछि दङ्ग छन् ।
चाडबाडको समयमा पानीको अभावमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय कमला भण्डारीले बताए ।
पानीका लागि जिल्लामा धुर्कोट गाउँपालिका सुक्खा क्षेत्रअन्तर्गत पर्दछ । सातवटा वडा रहेको धुर्कोट गाउँपालिकाका सबै वडामा खानेपानीको चरम अभाव थियो ।
विकास र अन्य पूर्वधारका हिसाबले धुर्कोट अगाडि भए पनि खानेपानीका क्षेत्रमा पछाडि परेको थियो । पालिकाभित्रका नागरिकको मुख्य समस्यालाई पहिचान गरी पालिकाले पानीको मुहान नभएका स्थानमा लिफ्टिङ प्रविधिको माध्यमबाट घरघरमा पानी पुर्याउन थालिएको अध्यक्ष पोख्रेलले बताए ।
“खानेपानीका लागि मूल नभएकाले सुक्खा याममा यहाँका अधिकांश मानिसको दैनिकी पँधेरा र कुवाबाट पानी बोकेर बित्ने गर्दथ्यो”, स्थानीय तारा पाण्डेले भने, “जीवनमा पहिलोपटक यसरी आफ्नै घरआँगनमा खानेपानीको धारासँगै शुद्ध पिउने पानी आएपछि निकै खुसी लागेको छ ।”
यसरी आफ्नै पालामा घरघरमा धाराबाट यसरी पानी आउँला भन्ने आफूले कल्पना नगरेको भन्दै विगतका दुःखलाई बिर्साइदिएको उनको भनाइ थियो ।
सङ्घीय र प्रदेश सरकार, धुर्कोट गाउँपालिका र स्थानीय जनश्रमदानसमेत गरी कुल रू एक करोड ५९ लाख तीन सय २४ लागतमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष पोख्रेलले जानकारी दिए ।
योजना सुरु गरिएको चार वर्षमा सम्पन्न भएको जनाउँदै उनले आयोजनाबाट अहिले एक सय आठ घरधुरीका छ सय ५० जना प्रत्यक्ष लाभान्वित बनेका बताए ।
पाँच हजार तीन सय ८२ घरधुरी रहेको धुर्कोट गाउँपालिकामा अझै एक हजार सात सय ३२ घरधुरीमा खानेपानी पुर्याउनका लागि काम भइरहेको पालिकाले जनाएको छ ।
पालिकाले आउँदो दुई वर्षभित्र धुर्कोटका सबै घरधुरीमा ‘एक घर एक धारा’ अभियानलाई पुरा गर्ने अध्यक्ष पोख्रेलले बताए ।