गण्डकी प्रदेश प्रमुख गुरुङ समक्ष अख्तियारको प्रतिवेदन पेस 



गण्डकी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले  आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यालय प्रमुख सन्तोष तिमल्सिनाले प्रदेश प्रमुख गुरुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।


कार्यालय प्रमुख तिमल्सिनाले आव २०७९/८० मा छानबिनमा रहेका कूल एक हजार चार सय ४२ उजुरीमध्ये नौ सय ७८ उजुरी (६७दशमलव८२ प्रतिशत) फछ्र्यौट भई चालु आवका लागि चार सय ६४ उजरी जिम्मेवारी सरेर आएको जानकारी दिए ।

उजुरी परेका क्षेत्रमध्ये सङ्घीय मामिला (स्थानीय तहसमेत) का ३५दशमलव९५ प्रतिशत, शिक्षा(स्थानीय तह समेतका) १४दशमलव५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित छ दशमलव०९ प्रतिशतलगायत रहेको उनको भनाइ थियो ।

आर्थिक वर्ष २०७९/८० मा विस्तृत अनुसन्धानबाट भएको कारबाहीअन्तर्गत एक सय ६२ वटा आरोपपत्र विशेष अदालतमा दायर गर्ने निर्णय भएको कार्यालय प्रमुख तिमल्सिनाले बताए ।

दायर मुद्दामध्ये सबैभन्दा बढी ६४ मुद्दा गैरकानुनी लाभहानीसंग सम्बन्धित थियोे । प्रदेश प्रमुख गुरुङले सबै आधार जुटाएर कारबाही बढाउनुपर्ने कार्य चुनौतीपूर्ण भए पनि संविधान र व्यवस्थाप्रति जनताको आस्था जगाउने गरी काममा क्रियाशील हुन आग्रह गरे ।