काठमाडौं । प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्दा विद्युत् विधेयक, २०८० पेस हुन सकेन ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव गरेका थिए ।
तर, निर्णयार्थ प्रस्तुत गर्ने समयमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याको प्रश्न उठाएपछि गणना गरिएको थियो । गणपूरक संख्या पुग्न ६९ हुनुपर्नेमा ६६ मात्रै सांसद उपस्थित भएपछि संसद्मा प्रस्ताव निर्णयार्थ पेस हुन सकेन ।
त्यसअघि, सांसद सुवालले नै प्रस्ताव पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका थिए । उक्त विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो ।
गणपूरक संख्या नपुगेपछि संसद्को बाँकी कार्यसूची अघि बढ्न सकेन । सभामुख देवराज घिमिरेले बैठक स्थगन गर्दै असोज १८ गते दिउँसो १ बजेका लागि अर्को बैठक बोलाएका छन् ।