काठमाडौँ । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयले आज मुख्यमन्त्रीको शपथको कार्यक्रम राखिएको जनाएको छ ।
कार्की एमालेका ३९ र नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सांसदको समर्थनमा प्रदेश प्रमुख बनेका हुन् । उनलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा ४७ जनाको समर्थन आवश्यक पर्दछ ।
मुख्यमन्त्री कार्कीले आज शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । कार्कीले कस्तो किसिमको मन्त्रिमण्डल बनाउँछन् भन्ने सबैमा चासो रहेको छ । उनी एमालेको समर्थनमा मुख्यमन्त्री बनेकाले एमालेलाई साथ लिनुपर्ने नैतिक दबाब छ ।
यता, मुख्यमन्त्री कार्कीले कांग्रेस संस्थापन पक्ष र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउँछन् वा गराउँदैनन् भन्ने पनि चासोको विषय रहेको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भएको छलफलमा सत्ता गठबन्धन प्रति दृढ र स्पष्ट रहने सहमति भएको थियो ।
एमाले प्रदेश सरकारमा सहभागी हुँदा यसको राजनीतिक असर कस्तो देखिन्छ भन्ने सबैको चासोको विषय बनेको छ ।
यसैबीच, नवनियुक्त मुख्यमन्त्री कार्कीले आगामी बिहीबारसम्ममा विश्वासको मत समेत लिने तयारी गरेका छन् । मुख्यमन्त्री बन्न एमालेको साथ पाएका कार्कीलाई सत्ता गठबन्धनले पनि विश्वासको मत दिने प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले बताइसकेका छन् ।