कार्की गठबन्धनकै मुख्यमन्त्री हुन् : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् । शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोशीमा केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको दाबि गरेका हुन् ।

उनले भने-‘आज विहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौं, कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ ।  अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं ।’


कोशीमा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेको सहयोगमा केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडी सारेपछि गठबन्धनको प्रयास असफल भएको थियो । कार्कीलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले उनको समर्थनमा रहेका सांसदहरुको सनाखतपछि मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।