६० किलो सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौं । ६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो ।

प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । यस सुन प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले सिफारिस गरेको थियो ।


सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा उल्लेख छ ।

प्रहरीले आरोपितमाथि बरामद भएकोबाहेक अरु सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोपपत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरिएको छ ।