सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भालुको आक्रमणबाट महाकुलुङ गाउँपालिका २ पेल्माङका ५६ वर्षीय जसधन राईको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मंगलबार बिहान अन्दाजी ९ बजे आफ्नै घर नजिकैको मकै बारीमा जाने क्रममा राईलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट सख्त घाइते भएका राईको महाकुलुङ प्राथमिक अस्पताल बुङमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।
उनको टाउको, घाँटीसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । मृतकको शव पोष्ट मार्टमका लागि प्राथमिक अस्पताल सोताङमा राखिएको छ ।