सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि पनि स्थगितको सूचीमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ । काठमाडौं जिल्ला अदालतमा सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितको सूचीमा परेको हो ।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।


आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसीमा चढिसकेको छ ।

सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।

सो निवेदनमाथि सर्वोच्च अदालतले विदेशमा खेल खेल्न जानका लागि अनुमति दिई नेपाल फर्किए लगत्तै सोको जानकारी सुरु अदालतलाई दिनुपर्ने आदेश दिएको थियो ।

सरकारी वकिल भने सन्दीपलाई थुनामै राख्नुपर्ने रिट लिएर सर्वोच्च पुगेको थियो । सर्वोच्चकै आदेशमा सन्दीपले पीडित भनिएकी गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति बापत एक लाख रुपैयाँ समेत दिइसकेका छन् ।