विश्वकप छनौटमा नेपाली महिला टिमको लगातार दोस्रो जित



काठमाडौँ । नेपालले टी-२० विश्वकपको एशिया छनौट खेल अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आज आफ्नो दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको हो ।

बहराइनले दिएको ३२ रनको लक्ष्य पछाएको नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।


नेपालका लागि कबिता कुँवरले अविजित १८ रन बनाएकी थिइन् भने सिता राना मगरले अविजित २ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिंगमा उत्रिएको बहराइन १५.४ ओभरमा ३१ रनमा अलआउट भएको थियो ।

बहराइनलाई सस्तैमा अल आउट गर्नेक्रममा नेपाली बलर इन्दु बर्माले ३ विकेट लिएकी थिइन् भने कुशी डंगोलले २ विकेट लिएकी थिइन् । त्यस्तै कविता कुवँर, पुजा महतो र कप्तान रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।

बहराइनका लागि दीपिका रासंगिकाले सर्बाधिक ११ रन बनाएकी थिइन् भने बहराइनका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विश्वकप छनौटमा नेपालको यो दोस्रो जित हो । यस अघि नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो ।   

सेप्टेम्बर ९ सम्म संचालन हुने यस एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।

समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल भुटानविरुद्ध सेप्टेम्बर ३ मा, कतारविरुद्ध सेप्टेम्बर ४ मा  र युएईविरुद्ध सेप्टेम्बर ६ मा खेल्ने तालिका रहेको छ । 

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।